घरेलु मैदानमा नेपालको दमदार विजय, अमेरिका पराजित

3.5k Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटिएपछि नेपाल विजयी भएको हो ।

अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन नसक्दा टोली दबाबमा परेको थियो । नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, सैतेजा मुक्कमल्लाले २२ र मिलिन्द कुमारले १२ रन जोडे ।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाको ब्याटिङ लाइनअप ध्वस्त पारे । सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

यसअघि नेपालले बलियो ब्याटिङ प्रदर्शन गर्दै ३१७ रनको विशाल योगफल बनाएको थियो । ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ५९ रन बनाए । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ र गुलशन झाले १५ रनको योगदान दिए ।

सम्बन्धित समाचार