काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।