काठमाडौं । सरकारले मुस्लिम समुदायको महान पर्व बकर ईद (ईद-उल-अजहा) का अवसरमा आगामी जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले उक्त निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार बकर ईदको अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, शैक्षिक संस्था तथा अधिकांश बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा रहनेछ।
नेपालमा मुस्लिम समुदायले बकर ईदलाई विशेष धार्मिक आस्था र उत्साहका साथ मनाउने गरेका छन्। यस पर्वमा सामूहिक नमाज अदा गर्ने, दान–पुण्य गर्ने तथा आपसी सद्भाव साटासाट गर्ने परम्परा रहेको छ।
सरकारले धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै हरेक वर्ष विभिन्न समुदायका पर्वमा सार्वजनिक बिदा दिने नीति अनुरूप यसपटक पनि बकर ईदमा बिदा दिएको जनाएको छ।