पाल्पा । पाल्पामा जङ्गली विषालु च्याउ खाँदा दुई महिलाको मृत्यु भएको छ भने अन्य १२ जना बिरामी परेका छन् । रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले गत शुक्रबार नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएपछि शनिबार बिहानदेखि बान्ता र झाडापखाला सुरु भएपछि उपचारका लागि तानसेनस्थित मिसन अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उक्त च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, जिल्लाको तानसेन, निस्दी र माथागढी क्षेत्रमा पनि विषालु च्याउ खाँदा १२ जना बिरामी परेको विवरण सार्वजनिक भएको छ । वर्षायाम सुरु भएसँगै जङ्गली च्याउ सेवन गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।