बुटवल । बुटवलस्थित तिनाउ नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन्। उनको अवस्था शुक्रबार बिहानसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
बुटवल–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ करिब साढे ६ बजे अन्दाजी ३५/३६ वर्षीय युवक नदीमा हाम फालेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार युवक नदीमा हाम फालेपछि तत्कालै प्रहरीलाई खबर भएको थियो। त्यसलगत्तै प्रहरी टोली खोजीमा परिचालन गरिएको थियो।
प्रहरीले स्थानीयको सहयोगमा तिनाउ नदीका सम्भावित क्षेत्रमा रातभर खोजी गरे पनि युवक फेला पार्न सकेको छैन। प्रहरीले शुक्रबार पनि खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।
बेपत्ता युवकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन। स्थानीयका अनुसार उनी बजार क्षेत्रमा नियमित रूपमा मदिरा सेवन गर्ने तथा मागेर खाने गरेको बताइए पनि प्रहरीले उनको पहिचान पुष्टि गरेको छैन।
पछिल्लो समय तिनाउ नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा थप कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन गर्दै प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको छ।