काठमाडौं । नेकपा (एमाले)की सांसद एशोदा बरालले प्रतिनिधिसभामा सभामुखको भूमिकामाथि प्रश्न उठाएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलका सांसदहरूले प्रयोग गरेका अशिष्ट शब्दप्रति सभामुख डोलप्रसाद आर्यालले ध्यान नदिएको गुनासो गरिन् ।
सांसद बरालले प्रतिनिधिसभा नियमावलीको नियम २१ मा शिष्टतासम्बन्धी व्यवस्था रहेको उल्लेख गर्दै सदनमा पुराना दलहरूमाथि अमानवीय र अशिष्ट टिप्पणी भइरहेको बताइन् ।
‘सदनमा माननीयज्यूहरूले पुराना दलहरूलाई अशिष्ट व्यवहार गर्दै अमानवीय टिप्पणी गरिरहनुभएको छ,’ उनले भनिन् । उनले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सभामुखले कुनै प्रतिक्रिया नदिएको आरोप लगाइन् ।
बरालले सत्तापक्ष र विपक्षी दलका सांसद समान रहेको उल्लेख गर्दै संसद् वादविवाद गर्ने थलो नभई मर्यादित बहस गर्ने ठाउँ भएको बताइन् । उनले ‘सदन गन्हायो’ जस्ता शब्द प्रयोग गरिएको भन्दै त्यस्ता अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
साथै, विपक्षी दलका सांसदहरूले बोलेका विषयमा मात्र तत्काल ध्यानाकर्षण हुने तर सत्तापक्षका सांसदहरूको गुनासो बेवास्ता गरिएको भन्दै उनले सभामुखको निष्पक्ष भूमिकामाथि प्रश्न उठाइन् ।