कांग्रेसमा बढ्दो गुटबन्दी, एकताको नारामै तीव्र शक्ति संघर्ष
3.4k
Shares
काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय गुटीय राजनीति र शक्ति संघर्ष झन् तीव्र बन्दै गएको देखिएको छ। नेताहरूले सार्वजनिक रूपमा पार्टी एकताको कुरा गरे पनि व्यवहारमा भने आन्तरिक दूरी बढिरहेको हो।
विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद प्रतिनिधिसभा निर्वाचनपछि थप चर्किएको बताइन्छ। संस्थापन पक्षले एकताको सन्देश दिइरहेको भए पनि इतर समूह छुट्टै भेला, शक्ति प्रदर्शन र संगठन विस्तारमा सक्रिय देखिएको छ।
सभापति गगनकुमार थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारीबाहिर रहेका नेताहरूलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन्। उनले केन्द्रीय समिति, निर्वाचन समिति र अनुशासन समितिलगायत संरचनामा सबै पक्षलाई सहभागी गराउने प्रस्ताव अघि सारेका छन्।
तर, पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले सभापति थापाले व्यवहारमा भने एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। उनीहरूका अनुसार परामर्शबिना निर्णय गर्ने, नेताहरूलाई व्यक्तिगत रूपमा तान्ने र संगठन कमजोर बनाउने प्रवृत्तिले विवाद बढाएको हो।
नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समूहले पनि पार्टीभित्र सम्मानजनक सहमति र साझा संरचना आवश्यक रहेको बताएका छन्। उनीहरूले महाधिवेशनबाट निर्वाचित सबै नेताहरूलाई आगामी संगठनात्मक प्रक्रियामा सहभागी गराउनुपर्ने माग गरेका छन्।
कांग्रेसभित्र अहिले एकताको चर्चा धेरै भए पनि व्यवहारमा गुटीय प्रतिस्पर्धा र अविश्वास बढ्दै गएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।