कक्षामा बस्दैमा सिकाइ हुँदैन- त्रिविको ८० प्रतिशत हाजिर नियममाथि संसदमा प्रश्न

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धिताल ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा लागू गरिएको ८० प्रतिशत भौतिक उपस्थितिको नियमप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले शिक्षा प्रणालीलाई केवल उपस्थितिको आधारमा मापन गर्नु उपयुक्त नहुने बताइन्।

धितालले नियमको उद्देश्य राम्रो भए पनि त्यसले मात्रै विद्यार्थीको ज्ञान, सीप र वास्तविक सिकाइ मापन गर्न नसकिने तर्क गरिन्। उनका अनुसार विद्यार्थी कक्षामा उपस्थित भएर पनि सिकिरहेको नहुन सक्छ, त्यसैले शतप्रतिशत उपस्थिति पनि अर्थहीन बन्न सक्छ।

उनले अहिले विश्व खुला ज्ञान र प्रविधिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालमा अझै पनि भौतिक उपस्थितिलाई मात्रै प्राथमिकता दिने सोच कायम रहेकोमा चिन्ता व्यक्त गरिन्। “नियम विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्छ, थिच्नका लागि होइन,” भन्दै उनले शिक्षा प्रणालीलाई आधुनिक सोचसँग जोड्न आग्रह गरिन्।

रास्वपा सचेतक धितालले सरकार र विश्वविद्यालय प्रशासनलाई कठोर उपस्थितिको गणनाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा, सिर्जनशीलता, सीप विकास र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने नीति बनाउन सुझाव दिएकी छन्।

सम्बन्धित समाचार