विश्वका दुई अग्ला हिमाल आरोहण गर्दै नयाँ इतिहास रच्यो चिनियाँ टोली

1.4k Shares

काठमाडौं । चिनियाँ आरोही सी जुन्जी नेतृत्वको टोलीले यस वर्ष सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो टोली बनेर नयाँ उपलब्धि हासिल गरेको छ।

टोलीले गत मे १४ तारिख बिहान ८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो। त्यसपछि आज बिहान ११:२५ बजे लोत्से हिमाल पनि आरोहण गर्दै एउटै सिजनमा दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो।

उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा सहभागी रहेका थिए। हिमालयन माउन्टेनियरिङ एक्सपिडिसनमार्फत आरोहणमा गएको टोलीले सगरमाथा चढिसकेपछि क्याम्प–२ मा झरेर पुनः लोत्सेतर्फ प्रस्थान गरेको थियो। सामान्यतया आरोहीहरू सगरमाथा आरोहणपछि क्याम्प–४ बाटै लोत्से जाने गर्छन्।

एक्सपिडिसनका सञ्चालक उत्सव पाठकका अनुसार ८,८४८.८६ मिटर अग्लो सगरमाथा र ८,५१६ मिटर अग्लो लोत्से सफलतापूर्वक आरोहण गर्ने यो यस सिजनको पहिलो टोली हो। टोली ‘रोप फिक्सिङ’ समूहपछि सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यावसायिक आरोही समूहसमेत बनेको छ।

यसैबीच, प्रख्यात आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् भने महिला आरोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढ्दै आफ्नै रेकर्ड तोडेकी छन्।

सम्बन्धित समाचार