काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनले केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडी बनेका हुन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएपछि सन्दीपले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । खेलको २३ ओभर समाप्त हुँदा स्कटल्यान्ड पाँच विकेट गुमाएर १३२ रनमा खेलिरहेको थियो । नेपालका लागि सन्दीपले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
यससँगै सन्दीपले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको पुरानो विश्व कीर्तिमान तोडेका छन् । स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए भने सन्दीपले चार खेल कममै उक्त कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।
यो नेपाली क्रिकेट इतिहासकै एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसअघि पनि सन्दीपले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका थिए । उनले सन् २०२३ मा ओमानविरुद्धको खेलमा ४२औँ खेल खेल्दै १०० विकेट पूरा गरेका थिए ।
त्यतिबेला उक्त कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । अहिले १५० विकेटको दौडमा पनि सन्दीपले विश्वका चर्चित बलरलाई पछि पार्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएका छन् ।