काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टी संगठन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यसअघि गत शनिबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आज बस्ने बैठकमा ११औँ महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका तहसम्म जिम्मेवारी दिने विषयमा विशेष छलफल हुने बताइएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रत्येक केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज बनाउने तयारी एमालेले गरेको छ । यसबाट पार्टी संगठनलाई गाउँ–गाउँसम्म सक्रिय बनाउने उद्देश्य राखिएको नेताहरूले बताएका छन् ।
यस्तै, पार्टीका केन्द्रीय विभाग, जनसंगठन तथा विभिन्न निकायमा जिम्मेवारी बाँडफाँटको विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ । बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्न सक्ने जनाइएको छ ।
बैठकमा सरकारका पछिल्ला गतिविधि, सुकुम्बासी व्यवस्थापनको विषय, जनजीविकासँग सम्बन्धित सवाल तथा समसामयिक राजनीतिक परिस्थितिबारे समेत छलफल हुने एमालेले जनाएको छ ।