भेनेजुएलाका पूर्व उद्योगमन्त्री साबलाई अमेरिकाले नियन्त्रणमा लियो
3k
Shares
काठमाडौँ । भेनेजुएलाका पूर्व उद्योगमन्त्री तथा राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी एलेक्स साबलाई अमेरिकालाई बुझाइएको छ । कोलम्बियामा जन्मिएका साब व्यवसायीसमेत हुन् र उनी लामो समयदेखि अमेरिकी अनुसन्धानको केन्द्रमा थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साबलाई गत फेब्रुअरीमा भेनेजुएलाको राजधानी काराकासमा अमेरिकी तथा भेनेजुएली अधिकारीहरूको संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो । पक्राउपछि उनीमाथि विभिन्न आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
यसअघि सन् २०२० मा पश्चिम अफ्रिकी देश काबो वर्देमा उनलाई पक्राउ गरिएको थियो । त्यसबेला अमेरिकाले उनीमाथि हुन्डी कारोबार, भ्रष्टाचार र अवैध आर्थिक गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो । पछि उनलाई अमेरिका पठाइएको थियो ।
तर सन् २०२३ मा अमेरिका र भेनेजुएलाबीच भएको बन्दी आदानप्रदान सम्झौताअन्तर्गत साबलाई रिहा गरिएको थियो । त्यसपछि उनी फेरि भेनेजुएला फर्किएका थिए ।
गत जनवरीमा अमेरिकी विशेष सैन्य कारबाहीमार्फत पूर्वराष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको थियो । त्यसपछि उनलाई अमेरिकामा लगिएको थियो । अदालतमा उपस्थित हुँदा मादुरोले आफूलाई अपहरण शैलीमा अमेरिका ल्याइएको दाबी गरेका थिए ।
अमेरिकी अधिकारीहरूका अनुसार साब मादुरो सरकारका महत्वपूर्ण आर्थिक संयोजकमध्ये एक थिए । उनीमाथि भेनेजुएलाको सरकारी खाद्यान्न वितरण कार्यक्रमसँग सम्बन्धित भ्रष्टाचार, घुस प्रकरण तथा अवैध रकम कारोबारमा संलग्न रहेको आरोप छ ।
साबलाई अमेरिका बुझाइएपछि भेनेजुएलाको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । विपक्षीहरूले यसलाई भ्रष्टाचारविरुद्धको कदम भनेका छन् भने मादुरो समर्थकहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।