काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल (प्रचण्ड) ले कांग्रेस वा एमालेसँग मात्रै मिलेर प्रदेश सरकार बनाउने खेलमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
आइतबार वीरेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबाट विभिन्न समयमा प्रदेश सरकार गठनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले अस्वीकार गरेको दाबी गरे ।
प्रचण्डले हिजो मात्रै कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग छोटो भेटवार्ता भएको उल्लेख गर्दै प्रमुख दलहरूबीच सरकार गठनका विषयमा छलफल भइरहेकाबारे जानकारी दिएका हुन् ।
उनले अहिले कांग्रेसलाई बाहिर राखेर एमालेसँग वा एमालेलाई बाहिर राखेर कांग्रेससँग मिलेर सरकार बनाउने नीति वर्तमान परिस्थितिमा उपयुक्त नहुने धारणा राखे । “अहिले यो वा त्यो दलसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ । यसले जनतामा भ्रम मात्रै सिर्जना गर्छ,” उनले भने ।
प्रचण्डले प्रदेश सरकारमा नयाँपन ल्याउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा मधेश केन्द्रित दलहरू सहभागी हुने साझा वा सर्वदलीय सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार शान्ति सम्झौता, संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू एक ठाउँमा उभिए जनतामा सकारात्मक सन्देश जाने र सरकार तुलनात्मक रूपमा प्रभावकारी बन्न सक्छ । “प्रदेशसभामा प्रतिनिधित्व भएका सबै दलहरूको सहभागितामा सरकार बनाउने हो भने हाम्रो समर्थन हुन्छ,” उनले भने, “तर कांग्रेस र एमालेको पालैपालो सरकार चलाउने खेलमा हामी सहभागी हुँदैनौँ ।”