काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ। गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५०० वडामा आज अधिवेशन हुन लागेको हो।
रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म करिब ३ हजार वडामा तदर्थ समिति गठन भइसकेका छन्। तीमध्ये करिब ५० प्रतिशत वडाको अधिवेशन चुनावअघि र पछि सम्पन्न भइसकेको छ भने बाँकी वडाको अधिवेशन आज गरिनेछ।
पार्टीले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि तदर्थ समिति बनेका वडाको अधिवेशन आज हुँदैछ भने त्यसपछिका वडाको अधिवेशन जेठ १६ गते गर्ने कार्यतालिका तय गरिएको छ।
त्यसैगरी, पालिका अधिवेशन पनि दुई चरणमा हुने भएको छ। रास्वपाले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने जनाएको छ। पार्टीले कुनै पालिकाका ३० प्रतिशत वडा र जिल्लाका ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भए उपल्लो तहको अधिवेशन रोक्न नपर्ने निर्णयसमेत गरेको छ।
रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन तथा जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। पार्टीको प्रथम केन्द्रीय महाधिवेशन भने असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुनेछ। पार्टी स्थापना भएको ठीक चार वर्ष पुगेकै दिन महाधिवेशनको मिति तय गरिएको जनाइएको छ।