काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा छ भने अमेरिका आफ्नो लगातार जितको लय कायम राख्न चाहन्छ । यसअघि लिग–२ अन्तर्गत भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो ।
आजको खेलमार्फत नेपाली टोलीमा ईशान पाण्डेले डेब्यु गरेका छन् भने कुशल भुर्तेल टोलीमा फर्किएका छन् । विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी भने बेन्चमा राखिएका छन् ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
हालसम्म लिग–२ मा २५ खेल खेलेको नेपाल १८ अंकसहित तालिकाको आठौँ स्थानमा छ । अमेरिका समान खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्कटल्याण्ड ३० खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ ।