काठमाडौं । ने.क.पा. एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा, पार्टीको भावी रणनीति तथा नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ ।
हालैको निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि पार्टीभित्र नेतृत्वबारे बहस बढिरहेको छ । अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरण गर्न दबाब बढिरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई विशेष अर्थका साथ हेरिएको छ ।
निर्वाचनपछिको समीक्षा गर्न एमालेले लामो समय औपचारिक बैठकसमेत राख्न सकेको थिएन । अध्यक्ष ओली स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट केही समय टाढा रहेका थिए । पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका कारण उनी पार्टीका नियमित कार्यक्रममा पनि कम सहभागी हुँदै आएका छन् ।