काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको चार वर्ष पुगेकै दिनदेखि सुरु हुने गरी प्रथम महाधिवेशनको मिति तय गरेको छ । ७ असार २०७९ मा स्थापना भएको रास्वपाले आगामी ७ देखि ९ असारसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने भएको हो ।
यसअघि पटक–पटक महाधिवेशनको मिति तोकिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । पछिल्लोपटक गत फागुनका लागि तय गरिएको महाधिवेशन उपनिर्वाचनका कारण रोकिएको थियो । चितवनको सौराहामा आयोजित विस्तारित बैठकले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेपछि ३० वैशाखमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम मिति र स्थान तय गरेको हो ।
रास्वपा शनिबारदेखि औपचारिक रूपमा महाधिवेशन केन्द्रित कार्यक्रममा जुट्ने भएको छ । २ जेठमा तदर्थ समिति गठन हुन नसकेका वडामा र ९ जेठमा तदर्थ समिति नबनेका पालिकामा भेला बोलाइएको छ । ती भेलाबाट नयाँ तदर्थ समिति गठन गरिनेछ ।
यसअघि तदर्थ समिति गठन भइसकेका वडाहरूमा ३ जेठमा वडा अधिवेशन र २५ वैशाखअघि पालिका समिति बनेका स्थानमा १० जेठमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । ३ जेठसम्म समिति बनेका वडामा १६ जेठ र १० जेठसम्म समिति बनेका पालिकामा १७ जेठमा अधिवेशन गर्ने तयारी गरिएको छ ।
रास्वपाले पहिलो महाधिवेशन ‘फास्ट ट्र्याक’ बाट गर्ने निर्णय गरेको छ । पार्टीको निर्णयअनुसार कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन र कुनै जिल्लामा ३० प्रतिशत पालिका अधिवेशन भए पनि माथिल्लो तहको अधिवेशन रोकिने छैन ।
निर्वाचन समितिका सचिव भूमिनन्द बरालका अनुसार सबै संरचनाको अधिवेशन सम्पन्न नभए पनि जिल्ला तथा केन्द्रीय अधिवेशन अगाडि बढाइनेछ । उनले महाधिवेशन अनिवार्य भएकाले छोटो प्रक्रियाबाट अघि बढ्नुपरेको बताएका छन् ।
पार्टी नेताहरूका अनुसार चुनावअघि र पछि गरेर करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेको छ । तीमध्ये आधामा वडा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।
पालिकाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा २०१ भन्दा बढी सदस्य भएको गाउँपालिकाबाट एक जना, ४०१ भन्दा बढी सदस्य भएको नगरपालिकाबाट दुई जना, ५०१ भन्दा बढी सदस्य भएको उपमहानगरपालिकाबाट तीन जना र ७०१ भन्दा बढी सदस्य भएको महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ ।
अधिवेशन हुन नसकेका स्थानबाट पनि प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था पार्टीले गरेको छ । संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन सम्पन्न भएका संरचनाबाट पूर्ण समिति प्रतिनिधि बन्नेछन् भने तदर्थ समिति भएका स्थानबाट पदाधिकारी मात्र प्रतिनिधि हुनेछन् ।
महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी ६ तहका निर्वाचित समिति चयन गरिनेछ । यद्यपि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भने तत्कालका लागि नहुने बताइएको छ ।
रास्वपाले प्रदेश अधिवेशन २६ जेठदेखि १ असारसम्म सञ्चालन गर्ने तालिका बनाएको छ । बागमती प्रदेशको अधिवेशन २६ जेठ, कोशी २७ जेठ, मधेश २८ जेठ, गण्डकी २९ जेठ, लुम्बिनी ३० जेठ, कर्णाली ३१ जेठ र सुदूरपश्चिम १ असारमा हुने तय गरिएको छ ।
जिल्ला अधिवेशन २३ र २४ जेठमा हुनेछ । अधिवेशन सम्पन्न भएका जिल्लाबाट पाँच–पाँच जना प्रतिनिधि चयन गरिनेछ । रास्वपाले केन्द्रीय महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरेको छ ।
महाधिवेशन तयारीका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साथै विधान संशोधनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की र सुशान्त वैदिक सदस्य रहेका छन् ।
कार्यदललाई १० जेठभित्र संशोधन प्रस्तावको मस्यौदा पेश गर्न निर्देशन दिइएको छ । पार्टीले सबै तहबाट सुझाव संकलन गरी आवश्यक संशोधनसहित नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको जनाएको छ ।