सहकारी ठगी प्रकरणमा रास्वपाका अर्का नेता तानिए, २६ जनाविरुद्ध पक्राउ पुर्जी

1.8k Shares

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अर्का नेता पनि मुछिएका छन् । कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएपछि रास्वपा स्याङ्जाका नेता रेग्मी फरार रहेका प्रहरीले जनाएको छ। सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने तथा पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीको भनाइ छ ।

बोधराज रेग्मी स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिवसमेत हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाबाट उम्मेदवार बनेका थिए । प्रहरीले उनको खोजी तीव्र बनाइएको जनाएको छ ।

यसअघि पनि उक्त सहकारी प्रकरणमा वडाध्यक्ष, पत्रकार, वकिल र सहकारी सञ्चालकहरूसहित विभिन्न व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो । सहकारीको रकम हिनामिना गरेको आरोपमा केही व्यक्ति हाल जेल सजायसमेत भोगिरहेका छन् ।

सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन्। बचतकर्ताको रकम फिर्ता नपाएपछि पीडितहरूले उजुरी दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार संस्थामा २६ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको देखिएको छ ।

सम्बन्धित समाचार