काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ पुनः मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई पुनः कोषाध्यक्षको जिम्मेवारी दिएका हुन् । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि श्रेष्ठलाई यही जिम्मेवारी दिएका थिए ।
कांग्रेसभित्र नयाँ नेतृत्व आएपछि पार्टी संगठन र आर्थिक व्यवस्थापनमा समेत फेरबदल हुने अपेक्षा गरिए पनि गगन थापाले पुरानै अनुहारलाई निरन्तरता दिएका हुन् । पार्टीको आर्थिक व्यवस्थापनमा अनुभव र कार्यसम्पादनलाई आधार बनाएर श्रेष्ठलाई दोहोर्याइएको नेताहरूले बताएका छन् ।
उमेश श्रेष्ठ लामो समयदेखि कांग्रेसको आर्थिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। पार्टीको विशेष महाधिवेशनपछि नयाँ कार्यसमितिले पूर्णता पाउने क्रममा कोषाध्यक्ष नियुक्ति गरिएको हो ।
पार्टीभित्र गगन थापाले आफ्नै टिम निर्माण गरिरहेका बेला देउवा निकट मानिएका श्रेष्ठलाई पनि जिम्मेवारीमा निरन्तरता दिइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले कांग्रेसभित्र समन्वय र सन्तुलन कायम गर्ने संकेत दिएको नेताहरूको भनाइ छ ।