असार पहिलो सातादेखि कक्षा ११ को पढाइ सुरु हुने

3.1k Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएसँगै सरकारले आगामी असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

यसपटक राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गरेपछि विद्यालयहरूले पनि भर्ना प्रक्रिया छिट्टै अघि बढाएका छन् । धेरै विद्यालयहरूले नतिजा आएको भोलिपल्टैदेखि अनलाइन तथा भौतिक दुवै माध्यमबाट आवेदन संकलन सुरु गरिसकेका छन् ।

यता, काठमाडौं महानगरपालिका ले पनि कक्षा ११ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरिसकेको छ । तर, अघिल्लो शैक्षिक सत्रअन्तर्गत कक्षा ११ को पढाइ र परीक्षा पूर्ण रूपमा नसकिँदै नयाँ भर्ना प्रक्रिया सुरु हुँदा विद्यालय व्यवस्थापनमा केही चुनौती देखिएको छ ।

विद्यालयहरूले पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएका विद्यार्थीको कक्षा सुरु गर्नुपर्ने तथा छात्रवृत्ति प्रक्रियासमेत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले विद्यार्थी र अभिभावकमा केही अन्योल देखिएको छ । तर, शैक्षिक क्षेत्रका सरोकारवालाहरूले यसपटक विगतजस्तो अव्यवस्था नहुने दाबी गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्व महासचिव लोकबहादुर भण्डारीले सरकारको व्यवस्थापन प्रभावकारी भएको भन्दै भर्ना प्रक्रिया व्यवस्थित हुने बताए । उनका अनुसार कक्षा १२ को परीक्षा समयमै सकिएकाले शैक्षिक तालिका प्रभावित नहुने विश्वास गरिएको छ ।

त्यस्तै, निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले असारको पहिलो सातादेखि नै कक्षा ११ को पढाइ सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । विद्यालयहरूले समयमै भर्ना प्रक्रिया सम्पन्न गरेर नियमित पठनपाठन सुरु गर्ने योजना बनाएको उनको भनाइ छ ।

शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार शैक्षिक सत्र ढिलो हुन नदिन मन्त्रालयले असार १ गतेदेखि नयाँ भर्ना खुलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

सम्बन्धित समाचार