जेठ २१ भित्र क्रियाशील सदस्यता नवीकरण सक्ने कांग्रेसको लक्ष्य

2.5k Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम आगामी २१ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन समितिको बैठकले जेठ २१ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक सक्ने लक्ष्य निर्धारण गरेको हो ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना पनि अघि बढाएको जनाएको छ ।

कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ । यसका लागि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।

अनलाइनमार्फत सदस्यता अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर ‘एआई साथी’ मार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको पनि कांग्रेसले जनाएको छ । त्यस्तै डिजिटल सहायता केन्द्रका अन्य नम्बरमार्फत पनि सहजीकरण गरिने बताइएको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूका लागि पनि अनलाइन आवेदन प्रणाली उपलब्ध गराइएको छ ।

कांग्रेसले सदस्यता अद्यावधिक नगर्ने र परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ । पार्टीले आगामी असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार