मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बस्ने मधेश प्रदेशसभा बैठकमा उनले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।
जनमत पार्टीले गत २२ वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन बाध्य भएका हुन् । त्यसपछि २८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठमा विश्वासको मत लिने निर्णय गरेको थियो ।
संवैधानिक प्रावधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसैअनुसार यादवले प्रदेशसभामा बहुमत पुष्टि गर्न लागेका हुन् ।
हाल मधेश प्रदेशसभामा १०२ जना सदस्य रहेका छन् । सरकार टिकाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
प्रदेश सरकारलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेकपिका १५ जना प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ । जनमत पार्टी सरकारबाट बाहिरिए पनि सत्ता गठबन्धनसँग अझै बहुमत सुरक्षित रहेको दाबी गरिएको छ ।