ओलीको सक्रियता बढ्दै, चुनावपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्ने

2.9k Shares

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावपछि पहिलोपटक सचिवालय बैठक बस्ने भएको छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक शनिबारका लागि तय गरिएको हो ।

बैठकका एजेन्डा तय गर्ने काम पार्टी पदाधिकारीहरूले गरिरहेका छन् । अध्यक्ष ओली स्वास्थ्य तथा पारिवारिक कारणले केही समय सक्रिय राजनीतिबाट टाढा रहेपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापाले सम्हालिरहेका थिए ।

निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि एमालेले औपचारिक समीक्षा बैठक गर्न सकेको थिएन । अध्यक्ष ओली बुवाको निधनपछि शोकमा रहेका थिए । त्यसलगत्तै उनी पक्राउ परेका थिए, जसका कारण पनि पार्टी गतिविधि प्रभावित बनेको थियो ।

पछि पित्तथैलीको शल्यक्रिया गराएर आराम गरिरहेका ओली सार्वजनिक तथा औपचारिक कार्यक्रममा सक्रिय हुन सकेका थिएनन् । यद्यपि भक्तपुरको गुण्डुस्थित निवासबाट उनले पार्टी गतिविधिमाथि निगरानी र आन्तरिक छलफललाई निरन्तरता दिइरहेका थिए ।

पार्टीभित्र बैठक र औपचारिक कार्यक्रम प्रभावित हुन थालेपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले २५ वैशाखमा गुण्डु पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । सोही छलफलपछि सचिवालय बैठक राख्न ओली सहमत भएको एमाले स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार