राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले बिहीबार सूचना जारी गर्दै पूरक परीक्षा आगामी असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
बोर्डका अनुसार परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पूरक परीक्षा नियमित परीक्षामा ननग्रेडेड भएका तथा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागिएको हो ।

‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने/गराउने गरी राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०१/२८ मा बसेको बैठकबाट निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बोर्डले परीक्षार्थीलाई परीक्षा केन्द्रमा तोकिएको समयभन्दा अगावै उपस्थित हुन आग्रह गरेको छ । साथै परीक्षा सञ्चालनसम्बन्धी थप जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ र विद्यालयमार्फत प्राप्त गर्न सकिने जनाएको छ ।