काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका छन् । प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध पार्ने शैलीमा विरोध प्रदर्शन गरेका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कार्यसूची रहे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी भएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए । त्यसपछि उनीहरूले संसदभित्रै उठेर नाराबाजी गरेका हुन् ।
विपक्षी सांसदहरूले “प्रधानमन्त्री कहाँ छन् ?” भन्दै लगातार नाराबाजी गरेका थिए । संसदमा केही समय तनावपूर्ण अवस्था बनेपछि सभामुखले विपक्षी दललाई आफ्ना धारणा राख्न समय दिएका थिए ।
विरोधका क्रममा केही सांसदहरू आक्रोशित देखिएका थिए भने संसद भवनभित्रको माहोल निकै तातिएको थियो । प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिविना नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन नहुने अडान लिएका छन् ।