संसद्मा बादलको विवादास्पद भनाइ हटाइयो, सभामुखको कडा रूलिङ

1.3k Shares

काठमाडौं । नेकपा एमालेका सांसद तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएका विवादास्पद अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली विपरीत भएको ठहर गर्दै संसद् सचिवालयलाई उक्त अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जेनजी आन्दोलन र नेपाली सेनासम्बन्धी टिप्पणी गरेका थिए । उनले रास्वपालाई ‘अराजक भीड’को संज्ञा दिएका साथै सेनाको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । त्यसपछि रास्वपा सांसदहरूले कडा आपत्ति जनाउँदै उक्त भनाइ रेकर्डबाट हटाउन माग गरेका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाले आफ्नो माग दोहोर्‍याएपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ अनुसार असंसदीय, अपमानजनक र आपत्तिजनक अभिव्यक्ति हटाउन रूलिङ गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा सांसदहरूले अशिष्ट, अपमानजनक वा असंसदीय शब्द प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । संसद्को गरिमा र मर्यादा कायम राख्न यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार