रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गते चितवनमा

1.5k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो ।

पार्टी नेता गणेश पराजुलीका अनुसार यसअघि सभापति सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर केन्द्रीय समिति बैठकले एक दिन पछि सार्दै असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

रास्वपाले २०७९ सालमा स्थापना भएपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । यसअघि चितवनको सौराहामा बसेको विस्तारित बैठकले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार पार्टीले संगठन निर्माण, वडा तथा पालिका अधिवेशन र जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ ।

पार्टीले महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । रास्वपाले वडा, पालिका र जिल्ला तहमा अधिवेशन गर्दै संगठनलाई चुस्त बनाउने तयारी गरिरहेको छ । महाधिवेशनमार्फत केन्द्रीय समितिलगायत विभिन्न तहको नेतृत्व निर्वाचित गर्ने तयारी रहेको बताइएको छ ।

रास्वपाले पछिल्लो समय संगठन विस्तारमा तीव्रता दिए पनि अझै धेरै वडा र पालिकामा संगठन निर्माण पूरा हुन सकेको छैन । पार्टीभित्र नयाँ नेतृत्व व्यवस्थापन, संगठन सुदृढीकरण र प्रदेश तहसम्म संरचना विस्तार चुनौतीका रूपमा देखिएको छ । यद्यपि, महाधिवेशनमार्फत पार्टीलाई संस्थागत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

चितवनलाई रास्वपाको राजनीतिक आधार क्षेत्रका रूपमा हेरिन्छ । पार्टी सभापति रवि लामिछानेले चितवन–२ बाट निर्वाचन जितेका कारण पनि महाधिवेशन चितवनमा गर्ने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार