पार्टी निर्णयविपरीत बादलको अभिव्यक्ति दोहोरियो

1.8k Shares

काठमाडौं । प्रतिनिधिसभामा नेपाली सेनाबारे दिएको अभिव्यक्तिलाई लिएर एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ फेरि विवादमा परेका छन् । यसअघि पार्टीले सच्याइसकेको विषय उनले संसद्मा पुनः दोहोर्‍याएपछि एमालेभित्र र संसद्‌मा तरंग पैदा भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै बादलले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले “देश संकटमा पर्दा सेना किन मूकदर्शक बन्यो ?” भन्दै टिप्पणी गरेपछि संसद्‌भित्रै विरोध भएको थियो । उनले लिपुलेक अतिक्रमणको प्रसंग उठाउँदै सेना सुकुमवासी बस्तीमा किन सक्रिय भएको भन्ने प्रश्नसमेत गरेका थिए ।

बादलले सरकारको नीति तथा कार्यक्रम ‘खारेज गरेर पुनर्लेखन गर्नुपर्ने’ समेत बताएका थिए । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जेनजी आन्दोलन र विदेशी प्रभावबारे टिप्पणी गर्दै सरकार मौन बसेको आरोप लगाए ।

उनको अभिव्यक्तिप्रति रास्वपा सांसद मनिष झा र राप्रपा सांसद खुश्बु ओलीले आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । उनीहरूले नेपाली सेनाजस्तो राष्ट्रिय संस्थामाथि प्रश्न उठाउने अभिव्यक्तिले राष्ट्रिय मनोबल कमजोर बनाउने बताएका थिए ।

यसअघि पनि बादलले गत चैतमा प्रतिनिधिसभामा यस्तै अभिव्यक्ति दिएका थिए । त्यसबेला एमालेकै नेताहरूले सार्वजनिक रूपमा असहमति जनाएपछि पार्टी सचिवालय बैठकले उनको भनाइ सच्याउने निर्णय गरेको थियो । तर अहिले फेरि उही विषय दोहोर्‍याएपछि एमालेभित्रको आन्तरिक संघर्षसँग जोडेर हेरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने बादलले पार्टीले आधिकारिक रूपमा सच्याएको एजेन्डा फेरि उठाउनु अर्थपूर्ण रहेको एमालेकै नेताहरूको टिप्पणी छ । पार्टीभित्र पुनर्गठन र नेतृत्वशैलीबारे बढ्दो बहसबीच बादलको अभिव्यक्तिलाई आन्तरिक शक्ति संघर्षको संकेतका रूपमा पनि हेरिएको छ ।

 
 
 
सम्बन्धित समाचार