सुदूरपश्चिम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र लामो समयदेखि देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आत्मालोचना गरेपछि पार्टीभित्रको तनाव मत्थर बनेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई भक्तपुरको गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । छलफलमा रावलले आफ्नो कार्यशैलीबारे उठेका गुनासो स्वीकार्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
रावलमाथि बजेट विनियोजन, राजनीतिक नियुक्ति तथा सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लाग्दै आएको थियो । केही सांसदले उनलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने मागसमेत गरेका थिए । यसअघि प्रदेश कमिटीले पनि रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी केन्द्रको ध्यानाकर्षण गराएको थियो ।
छलफलका क्रममा नेतृत्व परिवर्तनभन्दा सरकार पुनर्गठनमा बढी जोड दिइएको बताइएको छ । असन्तुष्ट समूहले आगामी बजेटअघि मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूहरूलाई पनि सरकारमा सहभागी गराउन प्रस्ताव राखेको स्रोतहरूको भनाइ छ ।
अध्यक्ष ओलीले सबै सांसदलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । यद्यपि असन्तुष्ट पक्षले रावलको आगामी कार्यशैली हेरेर थप निर्णय लिने संकेत गरेको बताइएको छ ।