डोजर आतंकले दुईको ज्यान गयो, सरकार चुप बस्यो : खुश्वु ओली

2.3k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओली ले सुकुम्बासी बस्तीमा गरिएको डोजर कारबाहीप्रति सरकारको मौनतामाथि कडा आपत्ति जनाएकी छन्। उनले गरिब र विपन्न नागरिकको ज्यान जाँदासमेत सरकार संवेदनशील नदेखिएको आरोप लगाएकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले दुई जना सुकुम्बासीको मृत्यु हुँदासमेत सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै आक्रोश पोखिन् । उनले सरकारमाथि “रुल अफ ल” होइन “रुल बाइ वि” को शैली अपनाएको आरोप लगाउँदै राज्यले मानवीय संवेदनाभन्दा शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको टिप्पणी गरिन् ।

उनले उद्धार गरिएका नागरिक बसिरहेको स्थानमै डोजर चलाइएको घटनालाई अमानवीय व्यवहारको संज्ञा दिँदै काठमाडौंबाट ४८ घण्टाभित्र कोठा सार्न बाध्य बनाइनु अन्यायपूर्ण भएको बताइन् । “मानवीय मूल्य र संवेदनालाई बेवास्ता गरेर गरिएको यस्तो व्यवहार सरकारकै ज्यादती हो,” उनले भनिन् ।

सांसद ओलीले प्रतिनिधिसभालाई समेत सरकारको छायामा पार्ने प्रयास भइरहेको आरोप लगाउँदै संसद् सरकारको कठपुतली बन्न नसक्ने बताइन् । प्रतिपक्षबाट सत्ता पक्षमा पुगेका सांसदहरू किन मौन बसेका छन् भन्ने प्रश्न पनि उनले उठाइन् ।

सुकुम्बासी बस्तीमा गरिएको डोजर कारबाही, अध्यादेश र सरकारको कार्यशैलीलाई लिएर पछिल्ला दिनहरूमा प्रतिपक्षी दलहरूले लगातार सरकारको आलोचना गर्दै आएका छन् । यही विषयलाई लिएर सोमबारको संसद् बैठक पनि निकै तातिएको थियो ।

सम्बन्धित समाचार