काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गरेको छ । विराटनगरमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै सन् २०२६ का लागि वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको हो ।
साधारणसभाले एनपीएलबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस निर्णयलाई जिल्ला स्तरमा क्रिकेट गतिविधि विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।
त्यस्तै, एसीसी र आईसीसीबाट थप कार्यक्रम प्राप्त भएमा आवश्यकता अनुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिने निर्णय पनि गरिएको छ । क्यानले जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने कार्यक्रमको मूल्यांकनका आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसबाट जिल्ला संघको सक्रियता र कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताइएको छ ।
पछिल्ला वर्षमा नेपाली क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला एनपीएललाई आर्थिक रूपमा व्यवस्थित र दीर्घकालीन बनाउने दिशामा क्यानले संस्थागत तयारी अघि बढाएको रूपमा यी निर्णयलाई हेरिएको छ ।