काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनको तयारीलाई तीव्र बनाउने भएको छ । यसका लागि पार्टी सचिवालयको बैठक आज साँझ बस्दैछ । बैठकले महाधिवेशनसँग सम्बन्धित कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।
पार्टी प्रवक्ता मनिष झाले चःमतिस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशन केन्द्रित विभिन्न एजेन्डामाथि छलफल हुने जानकारी दिएका छन् । बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको र तीमध्ये मुख्य विषय महाधिवेशनको तयारी रहेको बताइएको छ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरिसकेको छ । रास्वपाले आगामी भदौभित्र पहिलो महाधिवेशन सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको भए पनि विभिन्न कारणले मिति पटक–पटक सर्दै आएको थियो ।
आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिको भेला, अधिवेशनको विशेष तालिका तथा संगठन विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । त्यस्तै आयोग र विभागका पदाधिकारी मनोनयन, केही जिल्ला समिति विघटन तथा अनुशासनसम्बन्धी विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ ।
पछिल्लो समय पार्टीभित्र नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिबारे प्रश्न उठिरहेका बेला बैठकले अनुशासनसम्बन्धी विषयमा समेत कडाइ गर्ने संकेत देखिएको छ । केही नेताहरूले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने प्रवृत्तिप्रति नेतृत्व असन्तुष्ट रहेको बताइएको छ ।
बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तोक्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।