काठमाडौँ । गोंगबु बसपार्क क्षेत्रका होटलहरूमा अस्थायी रूपमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकलाई नागार्जुनस्थित अपार्टमेन्टमा सारिएको छ ।
शुक्रबार साँझ करिब ४० परिवारका ९३ जनालाई त्यहाँ पुर्याइएको भए पनि आधारभूत सुविधा व्यवस्थापन नगरी सारिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
विस्थापितहरूका अनुसार अपार्टमेन्टमा खानेपानी, समन्वय तथा दैनिक आवश्यक व्यवस्थासमेत स्पष्ट छैन । कसले र कति समयका लागि त्यहाँ राख्ने भन्नेबारे आधिकारिक जानकारी नदिइएको उनीहरूको गुनासो छ ।

मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालले सरकारले व्यवस्थापनको प्रयास गरे पनि समन्वय अभावका कारण अन्योल बढेको बताए । विस्थापित परिवारहरूले खाना, स्वास्थ्य सेवा र दीर्घरोगीको उपचार व्यवस्थापनबारे चिन्ता व्यक्त गरेका छन् ।
दुवै मिर्गौला फेल भई नियमित डायलासिस गराइरहेकी मुना खनालले वीर अस्पताल आउजाउ गर्न कठिन भएको बताएकी छन् । अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भन्ने अन्योल रहेको उनको भनाइ छ ।
विस्थापितहरूले सरकारले उठिबास लगाएपछि उचित बसोबास, आधारभूत सेवा र आफ्नै नाममा सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।