धरानमा पहिलोपटक प्याराग्लाइडिङ प्रिमियर लिग सुरु

1.7k Shares

सुनसरी । धरानमा नेपालकै पहिलो प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

धरान–४ छोटीमोरङस्थित डाँडाबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी ३२ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा चार महिला खेलाडीको पनि सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले थाउजेण्ड्स बुद्ध नजिकको डाँडाबाट उडान भरेर धरान–१४ खत्रीधारास्थित अवतरण क्षेत्रमा ल्याण्ड गर्नेछन् । प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन भइरहेको छ, जहाँ खेलाडीले निश्चित लक्ष्य क्षेत्रमा सबैभन्दा नजिक अवतरण गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख २५ हजार रुपैयाँ रहेको छ । ओभरअल विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तथा टिम विधामा पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गरेका थिए । उनले कोशी प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा प्याराग्लाइडिङलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । प्रतियोगिताको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने पनि उनले जानकारी दिए ।

नेपालमा प्याराग्लाइडिङको इतिहास चार दशकभन्दा पुरानो भए पनि व्यवस्थित लिग प्रणालीअन्तर्गतको प्रतियोगिता पहिलोपटक आयोजना गरिएको संघका अध्यक्ष भूपाल राईले बताएका छन् । उनका अनुसार यस प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन, नयाँ खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार