काठमाडौँ । भारतका विदेशसचिव विक्रम मिश्री को तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि त्यसलाई नेपाल–भारत सम्बन्ध र वर्तमान राजनीतिक परिवेशसँग जोडेर हेरिन थालेको छ । २८ वैशाखका लागि तय गरिएको भ्रमण केही दिनअघि रोकिएको विषय सार्वजनिक भए पनि दुवै सरकारले औपचारिक पुष्टि भने गरेका छैनन् ।
भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री बालेन्द्र शाह लाई भारत भ्रमणको निमन्त्रणा दिनु र नेपालमा विकसित पछिल्लो राजनीतिक अवस्थाबारे भारतीय धारणा तथा चासो बुझ्नु रहेको बताइएको छ । भारतले नयाँ सत्ता समीकरणपछि नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहेको विश्लेषण भइरहेको छ ।
कूटनीतिक स्रोतहरूका अनुसार भारतीय पक्षले प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष भेट सुनिश्चित नभएपछि भ्रमण स्थगित गरेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्ला कूटनीतिक संवादमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँग समेत भेट नगरेको सन्दर्भले भारत थप सतर्क बनेको बताइएको छ ।
भ्रमण स्थगित हुनुको अर्को कारण लिपुलेक सीमा विवादलाई पनि मानिएको छ । चीन र भारतबीच लिपुलेक नाकाबाट व्यापार सहमति सार्वजनिक भएपछि नेपालले औपचारिक आपत्ति जनाएको थियो । त्यसलगत्तै भारतले प्रतिक्रिया दिएको र त्यसपछि विदेशसचिव मिश्रीको भ्रमण पनि रोकिएको समाचारमा उल्लेख छ ।
विश्लेषकहरूले यस घटनालाई नयाँ सरकारको भारत नीति र कूटनीतिक सन्तुलनको प्रारम्भिक परीक्षणका रूपमा लिएका छन् । केहीले सरकारको गतिविधि भारत र चीनभन्दा पश्चिमी शक्तितर्फ बढी केन्द्रित देखिएको बुझाइ भारतमा रहेको भन्दै त्यसले पनि असन्तुष्टि बढाएको टिप्पणी गरेका छन् ।