दाङ । सल्यानमा शनिबार बिहान भएको ट्रयाक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१३ का २५ वर्षीय बसन्त बुढाथोकीको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि निर्माण सामग्री बोकेको भे १ त २०९० नम्बरको ट्रयाक्टर बिहान करिब ७ बजे बागचौर नगरपालिका–१० भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो । ट्रयाक्टर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको अवस्थामा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायब निरीक्षक रत्नलाल खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार पनि सल्यानमै अर्को ट्रयाक्टर दुर्घटना भएको थियो । दार्मा गाउँपालिका–२ मा भएको दुर्घटनामा १७ वर्षीय चालक प्रदीप विकको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।