काठमाडौं । उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले हर्क साम्पाङ र सुदन किरातीसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन् । उनले वैकल्पिक राजनीतिक शक्तिबीच भविष्यमा सहकार्य र मोर्चाबन्दी हुन सक्ने सम्भावना भने खुला रहेको बताएका हुन् ।
देशव्यापी संगठन विस्तार अभियानमा रहेका घिसिङले अहिले पार्टी निर्माण र जनतामाझ पुग्ने कामलाई प्राथमिकतामा राखिएको बताए । धरानसहित पूर्वका विभिन्न जिल्लामा पार्टीप्रति आकर्षण बढिरहेको उनको दाबी छ ।
सुदन किरातीसँग भेटवार्ता भएको स्वीकार गर्दै उनले पार्टी एकताबारे कुनै ठोस छलफल नभएको स्पष्ट पारे । “परिस्थितिले के गर्छ भन्न सकिन्न, तर अहिले केही पनि तय भएको छैन,” उनले भने ।
घिसिङले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले निर्णयहरूमा अत्यधिक हतार गरिरहेको भन्दै उनले परिपक्व ढंगले अघि बढ्न सुझाव दिए । “पाँच वर्ष समय छ, तातै खान्छु र जलेर मर्छु भन्ने शैलीमा काम गर्नु हुँदैन,” उनले भने ।
सुकुम्वासी व्यवस्थापनजस्ता विषयमा मानवीय संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ । जबरजस्ती निर्णयले अल्पकालीन लोकप्रियता दिलाए पनि दीर्घकालमा समस्या निम्त्याउने उनले बताए । घिसिङले आफ्नो पार्टी जनताका समस्या समाधान र सरकारलाई खबरदारी गर्ने उद्देश्यका साथ अघि बढिरहेको उल्लेख गर्दै स्थानीय तथा प्रदेश तहलाई केन्द्रमा राखेर संगठन विस्तार भइरहेको जानकारी दिए ।