अमेरिका ‘ए’ माथि नेपाल ‘ए’ को शानदार जित

1.4k Shares

काठमाडौं । नेपाल ‘ए’ ले अमेरिकाविरुद्धको एकदिवसीय खेलमा उत्कृष्ट जित हात पारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा मयन यादवले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले टोलीलाई जिततर्फ लैजान महत्वपूर्ण योगदान दिएका थिए । यस्तै सन्दीप जोराले ३६, कुशल मल्लले ३३, कप्तान अनिलकुमार साहले २७ तथा तृतराज दासले २३ रन बनाए । पवन सर्राफ २४ रनमा अविजित रहे ।

अमेरिकाका बलरमध्ये मिलिन्द कुमारले दुई विकेट लिए भने नोस्तुष केन्जिगे, रुशिल उगारकर, सञ्जय कृष्णमुर्थी, सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले उत्कृष्ट शतक प्रहार गर्दै ११६ रन बनाए । उनले १० चौका र पाँच छक्का प्रहार गरेका थिए ।

यस्तै जसदीप सिंह ३३ रनमा अविजित रहे भने हरमित सिंहले २५ रन जोडे । कप्तान मोनाङ्क पटेलले २० तथा शुभम रञ्जनेले १६ रन बनाए । नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए । विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक–एक विकेट हात पारे ।

सम्बन्धित समाचार