काठमाडौं । ने.क.पा. (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र चर्किएको असन्तुष्टि र नेतृत्व परिवर्तनको दबाबबीच अहिले आफ्नो राजनीतिक अस्तित्व जोगाउने रणनीतिमा केन्द्रित भएका छन् । पार्टी सचिवालयमा आफूविरुद्ध माहोल बन्दै गएको निष्कर्ष निकाल्दै उनले केन्द्रीय कमिटीमार्फत बहुमत सुरक्षित गर्ने तयारी थालेको खबर सार्वजनिक भएको छ ।
भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’पछि एमाले सरकार ढलेसँगै ओली पार्टीभित्र सबैभन्दा बढी आलोचित बनेका छन् । आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओली केही दिन अस्पतालमै प्रहरी निगरानीमा बसेपछि अहिले भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका छन् । तर उनी पार्टी नेतृत्व छाड्ने पक्षमा नरहेको समाचारमा उल्लेख छ ।
महासचिव शंकर पोखरेल ले ओलीलाई नेतृत्वबाट निकास दिन सुझाव दिएको चर्चा पनि गरिएको छ । पछिल्लो समय पोखरेल र उपाध्यक्ष विष्णु पौडेल ओलीलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउने पक्षमा देखिएको दाबी समाचारमा गरिएको छ । यद्यपि ओलीले भने आफूलाई मात्रै चुनावी हारको दोष दिन नहुने तर्क गर्दै “फेसबुकको अल्गोरिदमले पनि एमाले हराएको” टिप्पणी गरेको उल्लेख छ ।
ओली अहिले सचिवालय बैठकभन्दा सिधै केन्द्रीय कमिटी बैठक बोलाएर आफू अनुकूल निर्णय गराउने रणनीतिमा रहेको बताइएको छ । उनी प्रदेशका नेता तथा केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै भेटघाटमा सक्रिय भएका छन् । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको विवाद समाधानका लागि पनि उनले आफ्नै निवासमा नेताहरू बोलाएर छलफल गरेका थिए ।
समाचारअनुसार एमालेभित्र विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व ल्याउनुपर्ने आवाज पनि बलियो बन्दै गएको छ । केही नेताहरूले वर्तमान केन्द्रीय कमिटी विघटन गरेर पुनर्गठन गर्नुपर्ने माग अघि सारेका छन् । ओलीमाथि राजनीतिक र स्वास्थ्य दुवै दबाब बढिरहेका बेला उनले आफ्नो पक्षमा शक्ति सन्तुलन कायम गर्न तीव्र राजनीतिक भेटघाट गरिरहेका छन् ।