नेपाल ‘ए’को विजयी सुरुवात, स्कटल्यान्ड ४५ रनले पराजित

1.2k Shares

काठमाडौं । नेपाल ‘ए’ टोलीले त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा शानदार सुरुवात गर्दै स्कटल्यान्डलाई ४५ रनले हराएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमै समेटिएको हो ।

स्कटल्यान्डका लागि फिन्ले म्याक्राथले सर्वाधिक ५२ रन बनाए । ज्याक जार्भिसले ४५, मार्क वाटले ३७ तथा म्याथु क्रसले २२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका रशिद खानले ३ विकेट लिए भने शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २–२ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । देव खनालले ६३ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१ तथा दीपक डुम्रेले अविजित २३ रनको योगदान दिए ।

स्कटल्यान्डका ब्रान्डली करी र सफियान सरिफले समान २ विकेट लिए । अब नेपाल ‘ए’ले आफ्नो दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार