अझै दुई हप्तासम्म वर्षा हुने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

1.6k Shares

काठमाडौं । बिहीबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौंका केही क्षेत्र जलमग्न भएका छन् भने नदी तथा खोलामा पानीको बहावसमेत बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल का अनुसार अहिले देखिएको बदली र वर्षाको अवस्था अझै करिब दुई हप्तासम्म जारी रहने सम्भावना छ । उनले पश्चिमदेखि पूर्वसम्म पालैपालो वर्षा हुने प्रणाली सक्रिय रहेको बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखा ले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार शनिबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हिमपातसमेत हुन सक्ने उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेशलगायत पहाडी तथा हिमाली भूभागमा शुक्रबार पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । शनिबार पनि मौसममा खास सुधार नआउने जनाइएको छ ।

पछिल्ला केही दिनयता देशका अधिकांश क्षेत्रमा प्रि–मनसुन सक्रिय बनेको छ । यद्यपि यस वर्ष मनसुन अवधिमा भने औसतभन्दा कम वर्षा र बढी तापक्रम हुने प्रारम्भिक अनुमान गरिएको मौसमविद्हरूले बताएका छन् ।

सम्बन्धित समाचार