डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

974 Shares

डोल्पा । भारी हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढ क्षेत्रमा केही दिनदेखि फसेका उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरूमा मौमिता हाल्डर, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, डिपलिना विश्वास र राजेश डे रहेका छन्।

उनीहरू प्रसिद्ध शे–फोक्सुण्डो तालको भ्रमणपछि माथिल्लो डोल्पातर्फ गएका थिए। भ्रमण सकेर फर्कने क्रममा लगातारको हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू दानीगढ क्षेत्रमा फसेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार कात्तिक १४ गते पर्यटकहरू हिमपातमा फसेको जानकारी प्राप्त भएको थियो। त्यसपछि उनीहरूको उद्धारका लागि आवश्यक पहल सुरु गरिएको थियो।

उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्ने तयारी गरिए पनि प्राविधिक समस्या आएपछि केही समय ढिलाइ भएको थियो। वैकल्पिक हेलिकोप्टरको व्यवस्थापन गर्दै उद्धार प्रक्रिया अघि बढाइएको थियो।

उच्च हिमाली क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो। उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सम्पर्कमा रहेको प्रशासनले जनाएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पामा पदयात्रा गर्न रोक लगाइएको थियो। तर पर्यटकहरू उक्त निर्देशनको बेवास्ता गर्दै जोखिमपूर्ण क्षेत्रमा पुगेका थिए।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै पर्यटक तथा सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेकी छन्।

प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र शे–फोक्सुण्डो तालका कारण माथिल्लो डोल्पा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। तर पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा, मौसमसम्बन्धी पूर्वसूचना र आपत्कालीन उद्धारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता यो घटनाले पुनः देखाएको छ।

सम्बन्धित समाचार