बेइजिङ । इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता गर्ने स्पष्ट अडान सार्वजनिक गरेको छ । अब्बास अराघचीले बेइजिङमा भएको वार्ताका क्रममा इरानका अधिकार र हितहरूको पूर्ण रक्षा हुने अवस्था भए मात्रै सम्झौता सम्भव हुने बताएका हुन् ।
उनले इरान कुनै पनि बाह्य दबाबमा सम्झौता गर्न तयार नरहेको स्पष्ट पार्दै दुवै पक्षका लागि स्वीकार्य र सन्तुलित समझदारी मात्रै मान्य हुने बताए । यसैबीच चीनले इरान–अमेरिका तनावप्रति चिन्ता व्यक्त गर्दै तत्काल युद्ध रोक्नुपर्ने आवश्यकता औंल्याएको छ ।
चिनियाँ विदेश मन्त्रालयले दुवै देशलाई संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । चीनले विशेषगरी होर्मुज जलडमरू हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
उक्त क्षेत्र विश्वको तेल आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ र यहाँको तनावले विश्व बजारमा प्रभाव पारिरहेको छ । चीनले आफू इरानको विश्वसनीय रणनीतिक साझेदार भएको दोहोर्याउँदै ऊर्जा तथा व्यापार क्षेत्रमा सहकार्य निरन्तर रहने जनाएको छ ।