काठमाडौं । केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका नेकपा एमाले सांसदबीच भएको छलफल बिना कुनै ठोस निर्णय टुंगिएको छ ।
बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा करिब चार घण्टा लामो छलफल भएको हो। छलफल अनौपचारिक रहेकाले कुनै निर्णय नभएको र पुनः बैठक बस्ने सहमति भएको सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले जानकारी दिए ।
उनका अनुसार एमाले सुदूरपश्चिमका दलका नेता राजेन्द्र रावलसहित सबै प्रदेशसभा सदस्यले अध्यक्ष ओलीसमक्ष आफ्ना धारणा राखेका थिए । छलफलमा दल नेता रावलको कार्यशैली, पार्टीभित्र देखिएको अन्तरविरोध, प्रदेश सरकारको कार्यप्रगति, मन्त्रीहरूको समीक्षा तथा आगामी बजेटका प्राथमिकताबारे व्यापक बहस भएको एक सांसदले बताए ।
बैठकमा दल नेता परिवर्तनको विषय पनि उठेको जनाइएको छ। “कतिपयले नेता फेर्नुपर्ने धारणा राख्नुभयो भने कतिपयले फेर्न नहुने बताउनुभयो,” ती सांसदले भने, “आजको बैठक अनौपचारिक भएकाले निर्णय गर्नुपर्ने भए धनगढीमा संसदीय दलको औपचारिक बैठक बस्छ ।”
ती सांसदका अनुसार आगामी शुक्रबार पुनः ओलीसँग छलफल गर्ने तयारी गरिएको छ । छलफलमा एमाले उपमहासचिव लेखराज भट्ट पनि सहभागी थिए। सुदूरपश्चिमका बहुमत एमाले सांसदहरू दल नेता र सत्ता समीकरण दुवै परिवर्तन गर्ने कसरतमा रहेका बताइएको छ ।