सुकुम्बासी विस्थापन र अध्यादेशमार्फत शासनप्रति नेकपा (संयुक्त) को आपत्ति

2.1k Shares

काठमाडौं । नेकपा (संयुक्त) ले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको तथा प्रेस र श्रमिक क्षेत्रमाथि आर्थिक तथा नीतिगत दबाब सिर्जना गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

बुधबार माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ले सरकार गठन भएको डेढ महिना नबित्दै प्रधानमन्त्री बालेन्द्र शाह का निर्णयहरूले जनतामा निराशा र त्रास उत्पन्न गरेको बताए ।

भुसालले सहर सुन्दर बनाउने नाममा वास्तविक सुकुम्बासीलाई विकल्पबिना हटाउनु अमानवीय कार्य भएको उल्लेख गर्दै तत्काल यस्तो कार्य रोक्न सरकारसँग माग गरे। उनले विस्थापित नागरिकलाई क्षतिपूर्ति, बसोबास, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने बताए ।

त्यसैगरी, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएको प्रतिबन्धप्रति पनि उनले आपत्ति जनाए। उनले यस्ता कदमले संविधानप्रदत्त अधिकारमाथि प्रहार गरेको र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा उनले संसदमा स्पष्ट बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन गर्न खोजिएको भन्दै आलोचना गरे । यस्तो प्रवृत्तिले संसदीय प्रणालीलाई कमजोर बनाउने उनको भनाइ छ । नेकपा (संयुक्त)ले सरकारलाई समयमै आफ्ना निर्णयहरू सच्याउन आग्रह गर्दै अन्यथा मुलुक फेरि अस्थिरता र असफलतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार