तानसेन बाटै अब चारपाङ्ग्रे सवारी लाइसेन्स सेवा सुरु

1.8k Shares

तानसेन । पाल्पाबाटै अब हलुका सवारीसाधन (चारपाङ्ग्रे) चालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय तानसेन ले मोटरसाइकल र स्कुटरको लाइसेन्स मात्र वितरण गर्दै आएकोमा पहिलोपटक कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा (ई–रिक्सा) तथा ट्र्याक्टरका लागि पनि लाइसेन्स सेवा सुरु गरेको हो ।

यस सेवासँगै अब लाइसेन्सका लागि बुटवल, पोखरा वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ, जसले स्थानीय सेवाग्राहीलाई ठूलो राहत मिलेको छ । कार्यालय प्रमुख टीकाराम न्यौपाने का अनुसार हलुका सवारी चारपाङ्ग्रे लाइसेन्सका लागि अनलाइन आवेदनसमेत खुला गरिएको छ । ‘मङ्गलबारदेखि अनलाइन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा र त्यसपछि ट्रायल (परीक्षण) सुरु गर्नेछौँ,’ उनले बताए ।

विसं २०७५ मा स्थापना भएको उक्त कार्यालयले यसअघि ब्लुबुक नवीकरण, जाँचपास, रुट परमिट, लाइसेन्स नवीकरण तथा दुईपाङ्ग्रे लाइसेन्स वितरण सेवा प्रदान गर्दै आएको थियो ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा का प्रमुख राजेन्द्र खड्का ले यातायात कार्यालयबाट छिटो लाइसेन्स उपलब्ध हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा समेत कमी आउन थालेको बताए । नयाँ सेवा सुरु भएसँगै पाल्पा र आसपासका जिल्लाका सेवाग्राहीलाई सहज, छिटो र स्थानीय स्तरमै सेवा प्राप्त हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार