हारेर पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा ममता, राष्ट्रपतीय शासन लाग्न सक्ने

1k Shares

काठमाडौं — भारतको पश्चिम बंगाल राज्यको निर्वाचनमा पराजित भए पनि मुख्यमन्त्री ममता बनर्जीले राजीनामा नदिने अडान लिएकी छन्।

चुनावको नतिजाअनुसार भारतीय जनता पार्टी (बीजेपी)ले २०७ सिटसहित स्पष्ट बहुमत ल्याएको छ भने ममताको दल तृणमूल कांग्रेस ८० सिटमा सीमित भएको छ। ममता स्वयं पनि निर्वाचनमा पराजित भएकी छन्।

तर उनले पत्रकार सम्मेलनमार्फत ‘धाँधली भएको’ आरोप लगाउँदै राजीनामा नदिने घोषणा गरेकी छन्।

यस विषयमा भारतमा अहिले संवैधानिक बहस सुरु भएको छ। यदि उनले पद नछाडे के हुन्छ भन्ने प्रश्न उठिरहेको छ। भारतीय संविधानमा यस्तो अवस्थाको स्पष्ट व्यवस्था नभएको बताइन्छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीका अनुसार यस्तो अवस्थामा राष्ट्रपतीय शासन लागू हुन सक्ने सम्भावना रहन्छ। संविधानको धारा ३५६ अनुसार एकै समयमा दुई सरकार वा दुई मुख्यमन्त्री हुन नसक्ने भएकाले अस्थायी रूपमा राष्ट्रपतीय शासन लागू हुन सक्ने उनले बताएका छन्।

यसअघि सन् २००५ मा बिहार राज्यमा पनि यस्तै परिस्थितिमा राष्ट्रपतीय शासन लागू गरिएको उदाहरण रहेको छ।

हाल नयाँ सरकार गठनको तयारी भइरहँदा ममताको अडानले राजनीतिक अन्योल बढाएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार