रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले रोल्पा जिल्लामा भएको एक दर्दनाक जिप दुर्घटनामा २० जनाको मृत्यु भएपछि शोक बिदा घोषणा गरेको छ ।
वैशाख १७ गते बिहीबार रुकुमकोटबाट रोल्पाको जलजला क्षेत्रतर्फ तीर्थयात्राका लागि जाँदै गरेको जिप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१, जलजला क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दिउँसो करिब २:५० बजे भएको उक्त दुर्घटनामा एकै परिवार तथा नातेदार समेत रहेका २० जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनापछि सिस्ने गाउँपालिका गहिरो शोकमा डुबेको जनाइएको छ । गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, वैशाख २२ गते मंगलबारका दिन गाउँपालिका अन्तर्गतका सबै कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदा दिइएको छ ।