नयाँ जनादेश सहितको सरकार बनेपछि लुम्बिनी प्रदेशका भन्सारमा राजस्व संकलनमा सुधार

1.3k Shares

काठमाण्डौ । लुम्बिनी प्रदेशमा रहेका आठवटा भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२०८३ को पहिलो नौ महिना (साउन–चैत) मा राजस्व संकलनमा सुधारको संकेत देखाएका छन् ।

लुम्बिनी प्रदेशका तराईका जिल्ला रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र नवलपरासी पश्चिममा भन्सार नाका रहेका छन् । प्रदेशको सबैभन्दा ठूलो तथा मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार (बेलहिया) नाकामा नौ महिनामा कुल लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन भएको छ ।

उक्त अवधिमा कुल वार्षिक लक्ष्यको ७१ प्रतिशत अर्थात् ७८ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले शिलापत्रलाई जानकारी दिए । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.३४ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा ६८ अर्ब ६५ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो ।

suthauli1-(1)-1777337833.jpg

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आवका लागि १ खर्ब १३ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । भैरहवा भन्सार कार्यालयले अघिल्लो आवमा कुल लक्ष्यको ८७.०७ प्रतिशत राजस्व संकलन गरेको थियो । पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र समग्र आर्थिक गतिविधि पनि बढेकोले चालू आर्थिक वर्षको नौ महिनाको समग्र राजस्व संकलनको अवस्था हेर्दा उल्लेखनीय सुधार देखिएको प्रमुख पौडेलले बताए ।

‘गत भदौमा ‘जेन–जी आन्दोलन’का कारण केही समय भन्सार गतिविधि प्रभावित भए पनि पछिल्लो समय आयात–निर्यातसँग सम्बन्धित व्यापारिक गतिविधि पुनः बढ्दै गएका छन्,’ कार्यालय प्रमुख पौडेलले भने, ‘गत आवको तुलनामा चालू आवमा हालसम्मको राजस्व असुलीमा उल्लेखनीय सुधार देखिएको छ । अझै तीन महिना बाँकी रहेकाले विभागले तोकेको लक्ष्यलाई यस वर्ष भेटाउने गरी काम गरिरहेका छौँ ।’ आयात परिमाणका हिसाबले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो । गत आर्थिक वर्षमा भने यो भन्सारले असोज महिनामा मात्रै लक्ष्य पूरा गर्न सकेको थियो ।

जेन–जी आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालयमा पनि क्षति पुगेको थियो । आगलागीले भवन र अन्य संरचनासँगै विभिन्न उपकरणमा क्षति पुगेपछि केही समय पाल टाँगेर भन्सारको काम गरिएको थियो । अहिले भने पुरानै भवनबाट नियमित काम भइरहेको कार्यालय प्रमुख पौडेलले बताए ।

हालै सरकारले १०० रुपैयाँभन्दा बढीको समान ल्याउँदा अनिवार्य रूपमा भन्सार बुझाउनुपर्ने नियम ल्याएसँगै यहाँ पनि कडाइका साथ लागू गरिएको उनले बताए । यसले राजस्व संकलनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

सम्बन्धित समाचार