काठमाण्डौ । इरानको विदेश मन्त्रालयले अहिलेसम्म अमेरिकासँग इस्लामावादमा हुने वार्तामा सहभागी हुने विषयमा कुनै निर्णय गरेको छैन । यस्तै, अमेरिकाले भने यो वार्तामा सहभागी हुने जनाएको छ ।
त्यसका लागि उपराष्ट्रपति जेडी भेन्स नेतृत्वको प्रतिनिधिमण्डल इस्लामावादतर्फ उडिसकेको छ । उता पाकिस्तानमा वार्तालाई लिएर तयारी तीव्र भइरहेको छ भने वार्ता आयोजनास्थलमा कडा सुरक्षा व्यवस्था कायम गरिएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले तेहरानमा एक पत्रकार सम्मेलनका क्रममा अमेरिकाले युद्धविरामको सुरुवातदेखि नै उल्लंघन गरेको बताएका छन् । बकाईले चेतावनी दिँदै भने, ‘इरान कुनै समयसीमा वा अल्टिमेटम स्वीकार गर्दैन र यदि अमेरिका वा इजरायलले कुनै कदम उठाए भने तेहरानले कठोर जवाफ दिनेछ ।’
इरानी संसदका अध्यक्ष तथा अमेरिकासँग वार्ताका लागि इरानी टोलीका प्रमुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले नौसैनिक नाकाबन्दी नहटाएमा होर्मुज स्ट्रेटमा आवातजावत सीमित हुने चेतावनी दिएका छन् ।
गालिबाफले एकपटक फेरि लेबनानमा युद्धविरामलाई इरान–अमेरिका सम्झौतासँग जोड्दै ‘प्रतिरोध मोर्चा’ युद्धमा इरानको सहयोगका लागि आएकाले युद्धविराममा उनीहरूलाई निश्चित रूपमा सामेल गर्नुपर्नेमा जोड दिएका छन् । लेबनानमा हिज्बुल्लाह, यमनमा हुथी विद्रोही, गाजामा हमासलाई ‘प्रतिरोधको धुरी’ भन्दै उनीहरू इरानको समर्थक भएको दोहोर्याए ।
स्ट्रेट अफ होर्मुजको संकट बढेर तनाव चुलिँदै इजरायल–लेबनान युद्धविरामसमेत नाजुक भइरहँदा इरानको यो भनाइ बाहिर आएको हो । यही समयमा लेबनानमा दोस्रो इजरायली सैनिक मारिएको घटनासमेत बाहिर आएको छ ।
शनिबार राति मात्रै इरानी टेलिभिजनमा इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र इरानी अडानबारे विस्तारमा बताएका थिए । गालिबाफको भनाइ इरानमा कट्टरपन्थी शक्तिले अमेरिकासँगको वार्तालाई लिएर स्पष्ट पार्न असफल भएको आलोचनापछि बाहिर आएको हो । गालिबाफले यो टेलिभिजन कार्यक्रममा भने, ‘यदि मैले आफ्ना जनतासँग पहिले नै कुरा गर्न पाएको भए राम्रो हुने थियो । तर दुर्भाग्यवश मेरो व्यस्त दिनचर्या र कामको दबाबका कारण यो अवसर जुटेन ।’
‘हामी युद्ध जितिरहेका छौँ’
गालिबाफले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउनका लागि अमेरिकालाई सहयोग गर्नसमेत अस्वीकार गरेका छन् । उनले इरानले यो मार्गलाई नियन्त्रित गर्नेसमेत स्पष्ट पारेका छन् । उनले भने, ‘अमेरिकाले केही दिनदेखि नाकाबन्दी घोषणा गरिरहेको छ । यो एक मूर्खतापूर्ण र अज्ञानतापूर्ण निर्णय हो । अरु होर्मुज स्ट्रेटबाट हिँड्न सम्भव छैन र हामीलाई सम्भव छ ।’
गालिबाफले अमेरिकाले नाकाबन्दी नहटाएमा होर्मुज स्ट्रेटमा आवतजावत रोकिनेसमेत स्पष्ट पारेका छन् । पाकिस्तानमा इरानका शीर्ष वार्ताकार गालिबाफका अनुसार प्राविधिक क्षेत्रमा लगभग १८० ड्रोनलाई निसाना बनाइएको छ । अघिल्लो युद्धमा हामीसँग यस्तो रक्षा क्षमता थिएन ।
गालिबाफले थपे, ‘एफ–३५ लाई निसाना बनाउनु कुनै दुर्घटना होइन । यो केही प्रविधि र डिजाइनसम्बन्धी सफलतासँग जोडिएको अपरेसन हो । एफ–३५ मा मिसाइल विस्फोटले हामी के गर्न सक्षम छौँ र कुन दिशामा गइरहेका छौँ भन्ने प्रस्ट भएको छ ।’
गालिबाफले अमेरिका र इजरायलको सैन्य श्रेष्ठता स्वीकार गरे । तर, उनले इरानले उनीहरूको प्रतिरोध आफ्नै तरिकाले गरेको बताए । उनले भने, ‘हामीले एक कठिन युद्ध लड्यौँ र आफ्नै योजना र तयारीको बलमा दुस्मनलाई लखेट्यौँ । हामी यो युद्ध जितिरहेका छौँ ।’ गालिबाफले भने, ‘जब दुस्मनले आफ्नो लक्ष्य हासिल गर्न पाएन भने यसको अर्थ उसको असफलता र हार हो ।’
गालिबाफका अनुसार अमेरिका र इजरायलको लक्ष्यमा इरानलाई आत्मसमर्पण गराउने, सत्ता परिवर्तन गर्ने, इरानको मिसाइल क्षमता नष्ट पार्ने र पश्चिमी र पूर्वी सीमाबाट दुस्मनलाई आयात गर्नु थियो । इरानी संसदका अध्यक्षले भने, ‘इरानलाई आत्मसमर्पण गर्न माग गराउन दुई–तीन दिन लाग्ने कुरा गरिरहेका थिए तर ४० दिनपछि उसैले युद्धविरामको आह्वान गर्यो ।
हाम्रो मागमा युद्धविराम
गालिबाफले इस्फहानमा अमेरिकी सेनासँग भएको घटनाबारे समेत आफ्नो धारणा राखेका छन् । अमेरिकाले एक विशाल सैन्य अभियानमा एफ–१५ लडाकु विमानमा पाइलट बचाएको र पर्यावरणीय परिस्थितिका कारण फेरि उडान भर्न असमर्थ भएका कारण आफ्ना केही विमान नष्ट गरेको बताएको थियो ।
तर, इरानी मिडियाले अभियानका बारेमा अर्कै समाचार प्रकाशित गरेका थिए । त्यो भनेको इरानी सेनाले अमेरिकी विमान खसालेको उल्लेख थियो । गालिबाफले वार्ता उचित भएको भन्दै वार्ताको विरोध गर्नेहरूभन्दा फरक धारणा राखे । उनले भने, ‘मैदानमा हाम्रो अवस्था निश्चित रूपमा भारी छ र यही कारण ट्रम्प युद्धविराम आह्वान गरिरहेका छन् ।’
उनले भने, ‘दुस्मन युद्धविरामको माग गरिरहेको थियो । यदि हामीले युद्धविराम स्वीकार गर्यौँ भने यसको कारण भनेको उनीहरूले हाम्रो माग स्वीकार गरेका थिए ।’
गालिबाफले लेबनानमा भएको युद्धविरामको जिकिर गर्दै भने, ‘हिज्बुल्लाहले हालैको युद्ध इस्लामिक गणतन्त्रको रक्षाका लागि लड्यो, प्रतिरोध मोर्चा इस्लामिक गणराज्यको सहयोगका लागि आयो । त्यस कारण उनीहरूलाई युद्धविराममा सामेल गर्नुपर्थ्यो र इरानका सर्तमध्ये एक यो क्षेत्रमा युद्धविराम थियो ।’
इस्लामावादमा वार्ता र युद्धविरामलाई लिएर इरान–अमेरिका वार्ताको सुरुवातदेखि नै लेबनानको युद्धविराम सामेल थियो वा थिएन भन्ने विषयमा विरोधाभास देखिएको थियो । अन्तिममा लेबनानमा युद्धविरामबिना नै वार्ता सुरु भयो र इजरायलले लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरी हमला जारी राख्यो । डोनाल्ड ट्रम्पले ५ साताको युद्धपछि १७ अप्रिलमा इजरायल र लेबनानबीच युद्धविरामको घोषणा गरेका थिए । १४ अप्रिलमा वासिङ्टनमा इजरायल र लेबनानका राजदूतले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको उपस्थितिमा वार्ता भएपछि युद्धविराम घोषणा गरिएको हो ।
‘उनीहरू सबै कुरामा सहमत भए’
२८ फेब्रुअरीमा अमेरिका र इजरायलले हमला गरेपछि सुरु भएको युद्ध ४० दिनपछि १५ दिने अस्थायी युद्धविराम भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका भौतिक संरचनामाथि हमला गर्ने र इरानको सभ्यता नै समाप्त पार्ने धम्की दिएपछि युद्धविराम भएको थियो ।
इरान–अमेरिका वार्ताको पहिलो चरण ११ र १२ अप्रिलमा इस्लामावादमा भएको थियो । तर, यो वार्तामा कुनै सम्झौता नभई अमेरिकी उपराष्ट्रपति जेडी भेन्स नेतृत्वको टोली अमेरिका फर्किएको थियो ।
दुवै पक्षले वार्ताको विफलताका लागि एकअर्कामाथि दोष लगाएका छन् । तर, दुवै टोलीले वार्ताको सम्भावनालाई अस्वीकार गरेका थिएनन् । यद्यपि, वार्ताको नयाँ मिति तय भएको थिएन ।
मोहम्मद बाघेर गालिबाफ नेतृत्वमा इरानको एक टोलीले वार्तामा सहभागिता जनाएको थियो । गालिबाफले वार्तामा अमेरिकी टोली इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न असफल भएको बताएका थिए ।
जेडी भेन्सले अमेरिकाका मागलाई स्पष्ट र संक्षिप्त रूपमा राखेको बताएका छन् । इरानको परमाणु कार्यक्रमलाई लिएर रहेको मतभेद र अन्य असहमतिका कारण वार्ता विफल भएको ठानिएको छ । वार्ता विफल भएको १ दिनपछि १३ अप्रिलमा अमेरिकाले होर्मुज स्ट्रेट नियन्त्रणमा लिएको घोषणा गर्दै इरानमाथि नौसैनिक नाकाबन्दी गरेको थियो, जसले इरानी बन्दरगाह आउने र जाने कुनै पनि जहाज यो मार्ग हुँदै चल्न रोक लगाइएको थियो । १५ अप्रिलमा ट्रम्पले दोस्रो चरणको वार्ताको सम्भावना रहेको बताएका थिए ।
सोही दिन पाकिस्तानी सेना प्रमुख तथा फिल्ड मार्सल आसिम मुनिर एक उच्चस्तरीय कूटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलसहित अमेरिकाको सन्देश लिएर वार्ताको दोस्रो चरणको योजना बनाउन तेहरान पुगेका थिए । उनलाई इरानका विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका थिए । डोनाल्ड ट्रम्पले १७ अप्रिलमा इरान युरेनियम सम्बर्द्धन बन्द गर्न सहमत भएको बताएका थिए । उनले इरानले आफ्नो समृद्ध युरेनिमयम भण्डार सुम्पिने सहमति जनाएको र अरु सबै विवादमा सहमत भएको उनको दाबी थियो । (बीबीसी हिन्दीबाट)